ट्रेन्डिङ

बिहीबार हुने निर्वाचनका लागि पर्सामा सबै तयारी पूरा, सुरक्षा फौजसहित ११ हजार बढी कर्मचारी खटिदैँ

सबै मतदान केन्द्रमा ओसारियो सामग्री

वीरगन्ज । आसन्न निर्वाचनका लागि पर्सा जिल्लामा सबै तयारी पूरा भएको छ । निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचनको तयारी पूरा भएसंगै सबै मतदान केन्द्रमा निर्वाचन सामग्री समेत पठाइएको छ ।

सुरक्षाकर्मीदेखि लिएर मतदान केन्द्रमा खटिने मतदान अधिकृतसहितका कर्मचारी मतदान स्थलहरुमा खटाइएको जनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार जिल्लाभर कुल १६७ मतदानस्थलअन्तर्गत ४४१ मतदान केन्द्र तोकिएका छन् । बिहीबार हुने निर्वाचनका लागि ती केन्द्रहरुमा  आवश्यक सामग्रीसहित कर्मचारीहरु पनि खटाइसकिएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सोमबार नै कर्मचारी र सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा सामग्रीसहित पठाइएको बताए ।

मतदानका लागि वातावरण बनाउन, आचारसंहिता तयार पार्न र निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउनका लागि अगाडि नै कर्मचारीसहितका सामग्री पठाइएको निर्वाचनको कार्यालयले जनाएको छ ।

कति मतदाता ?

पर्सामा चारवटा निर्वाचन क्षेत्र छन् । भने जिल्लाभर कुल ३ लाख ७६ हजार ५१३ जना मतदाता छन् ।

तीमध्ये सबैभन्दा बढी मतदाका क्षेत्र नम्बर ३ मा छन् । अर्थात् यहाँ ९६ हजार ५४२ जना मतदाता छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा ९५ हजार २१३ जना मतदाता छन् भने क्षेत्र नम्बर २ मा ९५ हजार १२० जना मतदाता छन् । त्यसैगरी क्षेत्र नम्बर १ मा ८९ हजार ६३८ जना मतदाता रहेका जिल्ला निर्वाचनको तथ्यांक छ ।

कति कर्मचारी खटिदैँ फिल्डमा ?

निर्वाचनलाइ सभ्य, सुरक्षित वातावरणमा सम्पन्न गराउनका लागि सबै मतदान स्थलहरुमा व्यापक संख्यमा कर्मचारी खटिएका छन् ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार अढाइ हजार भन्दाबढी चारवटै निर्वाचन क्षेत्रमा कर्मचारी खटिएका छन् ।

शान्त रुपले मतदान सम्पन्न गराउन, मतपेटीका सुरक्षित रुपले सम्बन्धित ठाँउमा पुर्‍याउन तथा निर्वाचनबारे सम्पूर्ण गतिविधिको निगरानीका लागि ४४१ वटै मतदान केन्द्रमा अढी हजार बढी कर्मचारी खटाइएका छन् ।

निर्वाचन अधिकृत, सहायक अधिकृत तथा अन्य कर्मचारी गरी कुल २ हजार ६५२ जना कर्मचारी निर्वाचनमा खटिएका निर्वाचन आयोगले जनाएको छ । यता, सुरक्षा फौजतर्फबाट भने निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ५ हजार ५०० जना परिचालित छन् यसको अलावा २ हजार ८५२ जना निर्वाचन प्रहरी समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहाल बताउँछन् ।

कति जनाको उम्मेदवारी ?

प्रतिनिधि सभा निर्वाचनका लागि पर्सामा ‘हेभिवेट’ का सहित स्वतन्त्र उम्मेदवार गरेर १०७ जना चुनावी मैदानमा छन् । कुल उम्मेदवारमध्ये ६१ जना विभिन्न दलबाट र ४६ जना स्वतन्त्ररूपमा मनोनयन दर्ता गराएका निर्वाचन कार्यालयको विवरण छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा १८ वटा दल र १२ स्वतन्त्र गरी ३0 जनाको उम्मेदवारी छ । यसैगरी निर्वाचन क्षेत्र नम्बर–२ मा कुल ३१ जना रहेकामा १४ दल तथा १७ स्वतन्त्र उम्मेदवार छन् भने क्षेत्र नम्बर–३ मा पनि विभिन्न दल र स्वतन्त्रबाट गरी २३ जना उम्मेदवार बनेका छन् । यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा १२ जना दलबाट तथा ११ स्वतन्त्र गरी २३ जनाको उम्मेदवारी परेको छ ।

‘बोर्डर सिल’

निर्वाचनलाई लक्षित गर्दै पर्सासँग सीमा जोडिएका नेपाल–भारत नाकाहरू बन्द गरिएको छ । प्रशासनले सोमबार मध्यरातदेखि लागु हुने गरी बिहीबार १२ बजे रातिसम्म सीमा आवागमनमा रोक लगाएको हो ।

निर्वाचन अवधिमा हुन सक्ने सम्भावित दुर्घटना, घुसपैठलाई मध्यनजर राखेर बोर्डर सिल गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

यसैबिच फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्लामा मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको सहमतिअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नहुन्जेलसम्म यहाँ मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी दाहालले निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन यस्तो निर्णय गरिएको जानकारी दिए ।

प्रशासनले निर्णय उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानूनअनुसार कारबाही गरिने जनाएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै