ट्रेन्डिङ

मतदाताको बाटो छेक्नेलाइ २५ हजार जरिवाना, दोहोरो मतदान गर्नेलाइ पनि कारबाही

काठमाण्डौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

सोमबार जारी विज्ञप्तिमार्फत आयोगले निर्वाचन व्यवस्थापन, कर्मचारी खटनपटन तथा आवश्यक सामग्री ढुवानी लगायतका सबै काम सम्पन्न भइसकेको जानकारी दिएको हो ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान अधिकृतहरू सम्बन्धित केन्द्रमा पुगिसकेका छन् भने मतदानका लागि आवश्यक सम्पूर्ण सामग्री पनि तयारी अवस्थामा छन् ।

आयोगका अनुसार मतदातालाई मतदान केन्द्रसम्म पुग्न कुनै पनि किसिमको अवरोध गर्न पाइने छैन ।

निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसार कसैले पनि मतदातालाई मतदान स्थल प्रवेश गर्न रोक्न, बाटो छेक्न वा मतदान प्रक्रियामा बाधा पुर्‍याउन पाउने छैन। यस्तो कार्य गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना गरिने आयुक्त भण्डारीले बताए ।

यस्तै, एक व्यक्तिले एकभन्दा बढी पटक मतदान गर्न नपाइने पनि उनले जनाए छ। दोहोरो मतदान गरेमा पनि २५ हजार रुपैयाँसम्म जरिवाना हुने बताइएको छ ।

निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि आयोगले अनुगमन अधिकृतहरूलाई विशेष निर्देशन दिएको पनि जनाएको छ।

आयोगले ४ फागुनदेखि १८ फागुनसम्म प्रचारप्रसारको समय तोकेको थियो। गएराति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ, जुन मतदान प्रक्रिया सम्पन्न नभएसम्म कायम रहनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै