ट्रेन्डिङ

धनुषामा कति उम्मेदवारले खोले बैंक खाता ?

जनकपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा जिल्लामा उम्मेदवारी दिएका १५४ जनामध्ये ८८ जना उम्मेदवारले मात्रै निर्वाचन प्रयोजनका लागि अनिवार्य बैंक खाता खोलेको मधेस प्रदेश निर्वाचन कार्यालय, जनकपुरले जनाएको छ।

धनुषामा चारवटा निर्वाचन क्षेत्रमा कुल १५४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

तर निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक उम्मेदवारले आम्दानी तथा खर्चको पारदर्शी विवरण राख्न अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने व्यवस्था भए पनि सबैले पालना नगरेको देखिएको हो।

मधेस प्रदेश निर्वाचन कार्यालयका प्रमुख रोमबहादुर महतका अनुसार आयोगको पत्राचार र आह्वानअनुसार उम्मेदवारले बैंक खाता खोलेर सोही खातामार्फत चुनावी खर्च सञ्चालन गर्नुपर्ने प्रावधान छ।

आयोगले तोकेको सीमाभित्र रहेर मात्र खर्च गर्न पाइने व्यवस्था रहेको उनले स्पष्ट पारे।

यसैबीच, जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना पनि देखिएका छन्।

जिल्ला आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरेका अनुसार विभिन्न स्थानमा आचारसंहिताविपरीत राखिएका करिब एक लाख ५० हजार मूल्य बराबरका प्रचार सामग्री नियन्त्रणमा लिइएको छ।

उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिताको पूर्ण पालना गर्न सबै सरोकारवालालाई आग्रह गर्दै उल्लङ्घन गर्नेविरुद्ध कानुनबमोजिम कारबाही गरिने चेतावनी दिए।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सबै पक्ष गम्भीर बन्नुपर्ने बताए।

उनले निर्वाचनको वातावरण तयार भइसकेकाले आचारसंहिताको कडाइका साथ कार्यान्वयन भएमा मतदान प्रक्रिया पारदर्शी र विश्वसनीय हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै