धादिङ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार मध्यराति भएको यात्रुबाहक बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बिहान करिब १:३० बजे अनियन्त्रित भई त्रिशूली नदी किनारतर्फ खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घटनास्थल तनावग्रस्त बनेको थियो।
घटनालगत्तै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको नेतृत्वमा उद्धार टोली खटिएको थियो।
साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष टोली परिचालन गरी उद्धार कार्य तीव्र पारिएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएका १७ जनाको शव घटनास्थलमै फेला परेको छ।
घाइते २४ जनालाई तत्काल उद्धार गरी नजिकका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
मृतक तथा घाइतेहरूको पहिचान खुलाउने कार्य जारी रहेको जनाइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआइजी विष्णु प्रसाद भट्टले उद्धार तथा खोज कार्य अझै जारी रहेको जानकारी दिएका छन्।