मकवानपुर । भिरबाट खसेको ढुंगा लागेर एक जना नाबालिकाको ज्यान गएको छ । त्रिभुवन राजपथको हेटौडा–भैंसे सडकखण्डस्थित भुलभुलेमा भिरबाट खसेको ढुंगाले लागेर एक जना नाबालिकाको ज्यान गएको हो ।
यात्रुबाहक बसमा माथिबाट खसेको ढुंगा लागेर बसमा सवार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बस्ने १२ वर्षिया रिकु थिङको मृत्यु भएको हो ।
त्रिभुवन राजपथ हुँदै भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३१० नम्बरको बसमा अचानक माथि भिरबाट ढुङ्गा खस्दा उनी घाइते भएकी थिइन् । घाइते उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन लगिएको थियो ।
उपचारकै क्रममा थिङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।