ट्रेन्डिङ

रौतहट कर्फ्यु उल्लङ्घनमा १८ जना पक्राउ, गौरमा प्रशासनको कडाइ

रौतहट। जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालले कर्फ्यु आदेश उल्लङ्घन गरेको आरोपमा १८ जनालाई पक्राउ गरिएको बताएका छन्।

उनका अनुसार निषेधित क्षेत्रमा आवतजावत र जमघट गर्न खोज्नेहरूलाई नियन्त्रणमा लिइएको हो।

सदरमुकाम गौरमा जारी कर्फ्यु आदेश अवज्ञा गर्दै हिँडडुल तथा समूह बनाएर भेला हुन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रशासनले जनाएको छ।

पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको सिडिओ भुसालले स्पष्ट पारे।

जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।

कर्फ्यु जारी भएको क्षेत्रमा कुनै पनि व्यक्ति आवत–जावत गर्न, भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्णरूपमा रोक लगाइएको छ।

पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्मको क्षेत्रलाई कर्फ्युको दायरामा राखिएको छ।

गौर नगरपालिका–६ सवगढामा दुई समुदायबीच पुनः झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो।

प्रशासनले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल का सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ।

प्रशासनले कर्फ्यु पूर्णरूपमा पालना गर्न र शान्ति सुरक्षामा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै