वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ मा आयोजित घरदैलो तथा पार्टी प्रवेश कार्यक्रममा पुराना दलप्रति कडा टिप्पणी गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले वर्षौंदेखि दोहोरिँदै आएको “सपनाको राजनीति” अब अन्त्य हुनुपर्ने बताए।
“हरेक चुनावमा उही वाचा, उही नाराहरू सुनाइए। पानी जहाज चलाउनेदेखि घरघरमा ग्यास पुर्याउनेसम्मका सपना देखाइए। तर ती वाचा कहाँ पुगे? जनताले परिवर्तन खोजेका छन्, भाषण होइन परिणाम चाहेका छन्,” उनले भने।
पन्तले अब भ्रम र भावनात्मक नाराभन्दा काम गर्ने नेतृत्वको आवश्यकता औंल्याए।
उनले देशको नेतृत्व नयाँ सोच र नयाँ पुस्तालाई सुम्पिनुपर्ने तर्क गर्दै पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारेको स्मरण गराए।
“मेयर हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका काम सुरु गर्ने व्यक्ति देशको नेतृत्वमा पुगे भने परिणाम देखिन्छ,” उनले दाबी गरे।
उनले युवालाई परिवर्तनको मुख्य शक्ति भन्दै अब पुरानै ढर्राको राजनीतिलाई अस्वीकार गर्न आह्वान गरे।
“देश बनाउने जिम्मा तपाईंहरूको काँधमा छ। गलतलाई दोहोर्याउने कि नयाँ सुरुवात गर्ने निर्णय तपाईंहरूको हो,” पन्तको भनाइ थियो।
कार्यक्रममा जेनजी युवासहित करिब ५ सय जनाले टीका लगाएर रास्वपा प्रवेश गरेको आयोजकले जनाएको छ।
चुनावी अभियानको बीचमा पन्तको भाषणले वडा–३२ मा राजनीतिक बहस थप चर्किएको छ।