वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज वीरगन्ज आइपुग्दै छन्।
मधेश प्रदेशभर चुनावी माहोल तातेका बेला बालेनको वीरगन्ज आगमनले यहाँको राजनीतिक सरगर्मी झनै चुलिने संकेत देखिएको छ।
मधेश केन्द्रित चुनावी अभियानमा सक्रिय रहेका बालेनलो मधेसका सबै जिल्लामा ‘रोड सो’ तथा जनसम्पर्क गकिसकेका छन् ।
सोहि अनुसार उनको अहिले दिउँसो साढे १ बजे वीरगन्ज आउने कार्यतालिका तय भएको रास्वपा पर्साले पुष्टि गरेको छ।
रास्वपा पर्साका संयोजक हरि पन्तका अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको चुनावी प्रचारप्रसारलाई निर्णायक मोडमा पुर्याउन बालेन मधेश झरेका हुन्।
“चुनावी अभियानकै क्रममा उहाँ आज वीरगन्ज आउनु हुँदैछ,” पन्तले बताए।
बालेनको आगमनसँगै वीरगन्जमा रास्वपाका कार्यक्रमहरू थप सशक्त बनाइने र जनतासँग प्रत्यक्ष संवाद, भेटघाट तथा चुनावी सन्देश प्रवाह गरिने तयारी भइरहेको छ।
वीरगन्जमा कहाँ–कहाँ र कस्ता कार्यक्रम हुने भन्ने विस्तृत कार्यतालिका केही समयमै सार्वजनिक गरिने रास्वपाले जनाएको छ।
यद्यपी, जिल्लाका अधिकांश कार्यक्रममा भाग लिने गरी कार्यतालिका बनाइएको रास्वपा पर्साले जनाएको छ ।
राजनीतिमा फरक शैली र स्पष्ट अभिव्यक्तिका कारण चर्चामा रहेका बालेनको वीरगन्ज आगमनले रास्वपाको चुनावी अभियानलाई नयाँ उचाइमा पुर्याउने रास्वपाको कार्यकर्ता बताउँछन ।