ट्रेन्डिङ

भन्सार छलीको कपडा नियन्त्रणमा लिँदा वीरगन्जमा सशस्त्र प्रहरीमाथि हिंस्रक आक्रमण, भ्यान तोडफोड

वीरगन्ज ।भन्सार छली गरी लुकाइएका कपडा नियन्त्रणमा लिने क्रममा वीरगन्जमा सशस्त्र प्रहरीमाथि हिंस्रक आक्रमण भएको छ।

स्थानीय व्यापारीहरूको समूहले सशस्त्र प्रहरीलाई घेरा हानी कुटपिट गर्नुका साथै प्रहरीको भ्यानसमेत तोडफोड गरेका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर–१० आदर्शनगरमा प्रमोद कुमार कानुले गैरकानुनी रूपमा भण्डारण गरी राखेको कपडामाथि छापा मार्न पुगेको भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीमाथि आक्रमण भएको हो।

कपडा नियन्त्रण गरी प्रहरीको गाडीमा लोड गर्न थालेकै क्रममा आक्रोशित समूहले सशस्त्र प्रहरीमाथि हातपात गरेको पर्सा सशस्त्र प्रहरी प्रमुख एसपी मोहन क्षेत्रीले जानकारी दिए।

एसपी क्षेत्रीका अनुसार भन्सार छलीको कपडा राखिएको ठोस सूचनाका आधारमा छापा मारिएको थियो।

तर नियन्त्रण प्रक्रियालाई अवरोध गर्दै स्थानीय व्यापारीहरूले विवाद सिर्जना गरी प्रहरीमाथि आक्रमण गरेका हुन्।

आक्रमणका क्रममा सशस्त्र प्रहरीको ना १ झ १५३१ नम्बरको सरकारी भ्यानको सिसा फुटाइएको छ भने एक जना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन्।

घटनाको दौरान सशस्त्र प्रहरीका महम्मद अन्सारी आलमको मोबाइल फोनसमेत खोसिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।

सशस्त्र प्रहरी बल पर्साका अनुसार घटनामा संलग्न व्यक्तिहरूको सीसीटीभी फुटेजमार्फत पहिचान गरी दोषीविरुद्ध कडा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै