ट्रेन्डिङ

चुनावको संघारमै जसपा नेपालमा भगदौड, मधेस प्रदेश कोषाध्यक्षसहित शीर्ष नेता रास्वपामा

वीरगन्ज । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल गम्भीर संकटमा परेको छ।

पार्टीका प्रभावशाली नेता तथा मधेस प्रदेश कोषाध्यक्ष विष्णु साहसहितका शीर्ष तहका नेताहरूले एकैसाथ पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि जसपा नेपाललाई ठुलो राजनीतिक धक्का लागेको हो।

चुनावी सरगर्मी चुलिँदै गएको बेला भएको यो पार्टी प्रवेशलाई मधेसको राजनीतिक समीकरण बदल्ने घटनाका रूपमा हेरिएको छ।

रास्वपाका नेता तथा जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवका अनुसार प्रदेश कोषाध्यक्ष साहसँगै जसपा नेपाल गोलबजार नगरपालिकाका पूर्व नगर अध्यक्ष हरिनारायण (हिरा), कर्जन्हा गाउँपालिकाका वडा समिति अध्यक्ष सुरेश साह, सिरहा–४ का पूर्व क्षेत्रीय अध्यक्ष पवित्रनारायण यादव औपचारिक रूपमा रास्वपामा आबद्ध भएका हुन्।

यसै क्रममा जसपा नेपाल सिरहाका शीर्ष नेता रामसोगरथ यादवले पनि पार्टी त्याग्दै रास्वपामा प्रवेश गरेका छन्।

उनी २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका अनुभवी नेता हुन्, जसको पार्टी परिवर्तनले जसपा नेपालको संगठनात्मक आधार कमजोर हुँदै गएको संकेत गरेको छ।

एकपछि अर्को गर्दै मधेसका प्रभावशाली नेताहरू बाहिरिन थालेपछि जसपा नेपालभित्र असन्तुष्टि चुलिएको स्पष्ट देखिएको छ।

निर्वाचनको मुखमै देखिएको यो भगदौडले उपेन्द्र यादव नेतृत्वको पार्टीलाई थप दबाबमा पार्ने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै