ट्रेन्डिङ

वीरगन्ज मानवसेवा आश्रमका आमाबुबाको स्वास्थ्य चिन्ताजनक, कुन–कुन गम्भीर रोग देखिए ?

वीरगन्ज । मानवसेवा आश्रम वीरगन्जमा गरिएको निशुल्क स्वास्थ्य जाँचका क्रममा आश्रममा आश्रित आमा–बुबाहरूमा गम्भीर तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिएको खुलासा भएको छ।

नेपाल ईनोभेटिभ सोसाइटी पर्साको आयोजनामा सम्पन्न स्वास्थ्य शिविरले आश्रमका अभिभावकहरूको वास्तविक स्वास्थ्य अवस्था सतहमा ल्याएको हो।

शिविरमा सहभागी चिकित्सक टोलीका अनुसार स्वास्थ्य परीक्षणका क्रममा केही महिलामा आङ खस्ने, स्तनमा गाँठो, योनिमा घाउ, पिसाब चुहिने तथा पाठेघरसम्बन्धी समस्या देखिएको छ।

यी समस्या लामो समयदेखि उपचारको पहुँचबाहिर रहेका असहाय नागरिकमा देखिनु चिन्ताको विषय भएको चिकित्सकहरूको भनाइ छ।

चिकित्सकहरूले तत्काल परामर्श मात्र नभई आगामी उपचार प्रक्रिया र थप जाँचका लागि समेत सुझाव दिएका थिए।

नारायणी अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी हेमा थापा तथा चिकित्सकहरू डा. निरज कुमार सिंह, डा. मनोज उपाध्याय र डा. प्रीती यादवको टोलीले समग्र स्वास्थ्य परीक्षण गर्दै सहभागीहरूको अवस्था अनुसार व्यक्तिगत परामर्श प्रदान गरेको थियो।

शिविरमा मानसिक स्वास्थ्यसम्बन्धी औषधि, विभिन्न रोगका औषधि, भिटामिन, स्यानिटरी प्याड, ग्लोबलगायत अत्यावश्यक सामग्रीहरू पनि निशुल्क वितरण गरिएको थियो।

कार्यक्रम नेपाल ईनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा सम्पन्न भएको हो।

उनले आश्रममा आश्रित नागरिकहरूलाई समाजले बिर्सन नहुने बताउँदै भने, “मानवसेवा आश्रममा रहेका आमा–बुबाहरू हाम्रो समाजका मौन पीडा बोकेका अभिभावक हुनुहुन्छ। उहाँहरूको स्वास्थ्य सुरक्षामा थोरै भए पनि योगदान दिन पाउनु हाम्रो संस्थाका लागि गर्वको कुरा हो ।”

शिविरको अन्त्यमा आयोजक नेपाल ईनोभेटिभ सोसाइटी पर्साले समाजका असहाय, पछाडि परेका तथा आश्रममा आश्रित नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तर र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै