ट्रेन्डिङ

सेतो एप्रोनसहित मानवताको कसम: वीरगन्ज हेल्थ केयरमा नर्सिङ दिवस

वीरगन्ज । सेतो एप्रोनभित्र लुकेको सेवा, समर्पण र संवेदनाको पहिचान बोकेको नर्सिङ पेशाको सम्मानमा वीरगन्ज हेल्थ केयर कलेजले आज ६४ औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस विशेष कार्यक्रमसहित मनाएको छ ।

कलेज परिसरमा आयोजित कार्यक्रममा नयाँ भर्ना भएका नर्सिङ संकायका विद्यार्थीहरूको भव्य स्वागतसँगै मानवताको सेवामा समर्पित हुने दृढ प्रतिबद्धता पनि दोहोर्याइएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले वीरगन्ज हेल्थ केयर कलेजलाई केवल अध्ययन गर्ने थलो मात्र नभई आफूहरूको अभिभावक बनेको संस्थाका रूपमा अनुभूति गरेको बताएका छन् ।

पारिवारिक वातावरणमा शिक्षा प्रदान गरिँदै आएको भन्दै उनीहरूले कलेजप्रति गहिरो भरोसा र गर्व व्यक्त गरेका छन ।

“यहाँ हामीलाई नम्बर र प्रमाणपत्रभन्दा अघि मानिस बन्न सिकाइन्छ,” एक विद्यार्थीले भावुक हुँदै भनिन् ।

कलेजको सकारात्मक शैक्षिक वातावरणले आफूहरूलाई अझ अनुशासित, जिम्मेवार र सेवामुखी बनाएको उनीहरूको धारणा छ ।

यही वातावरणलाई आत्मसात् गर्दै कलेजको प्रतिष्ठा र आफ्नो भविष्य उज्यालो बनाउन कडा मेहनत गर्ने प्रतिबद्धता पनि विद्यार्थीहरूले व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रमुख अबुलहैस अन्सारीले नर्सिङ शिक्षा प्रतिको कलेजको अडान स्पष्ट पारे ।

“गुणस्तरीय शिक्षामा कुनै सम्झौता हुँदैन,” उनले भने, “दक्ष, नैतिक र सेवाभाव भएका नर्स उत्पादन गर्नु हाम्रो पहिलो प्राथमिकता हो।”

त्यसका लागि आवश्यक शैक्षिक संरचना, दक्ष जनशक्ति र अनुशासित वातावरणमा कलेज सधैँ सचेत रहेको उनको भनाइ छ।

कार्यक्रमको सबैभन्दा भावुक क्षण भने नयाँ ब्याचका नर्सिङ विद्यार्थीहरूको शपथ ग्रहण समारोह बन्यो ।

कलेज प्रशासन प्रमुख भूमिका अधिकारीले पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई शपथ ग्रहण गराएकी हुन् ।

सेतो एप्रोन लगाएका विद्यार्थीहरूले मानवता सबैभन्दा ठूलो सेवा भएको स्वीकार गर्दै दुःखी, बिरामी र पीडितको सेवामा निस्वार्थ भावले समर्पित रहने शपथ खाए ।

शपथ समारोहले विद्यार्थीहरूलाई नर्सिङ पेशाको गरिमा र जिम्मेवारीबोध गराउनुका साथै सेवाको बाटो सजिलो होइन तर सबैभन्दा पवित्र भएको सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।

६४ औँ नर्सिङ दिवसको अवसरमा सम्पन्न यस कार्यक्रमले वीरगन्ज हेल्थ केयर कलेजको शैक्षिक दृष्टिकोण, विद्यार्थी–मैत्री वातावरण र नर्सिङ पेशाप्रतिको गहिरो प्रतिबद्धतालाई अझ स्पष्ट रूपमा उजागर गरेको छ ।

कलेज प्रशासनका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत सेवामूलक शिक्षा र मानवीय मूल्यलाई अझ सुदृढ बनाइनेछ ।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै