वीरगन्ज । प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल मुस्लिम संघ पर्साले चुनावी भेला सम्पन्न गरेको छ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंग्टालाइ विजयी गराउने उद्देश्यले उक्त भेला आयोजना गरिएको हो।
भेलामा नेपाली कांग्रेस पर्साका जिल्ला सचिव इम्तियाज आलमले पर्सा–१ मा कांग्रेस उम्मेदवार रुंगटालाई जिताउन सम्पूर्ण मुस्लिम समुदाय एकजुट हुनुपर्नेमा जोड दिए।
रुंग्टाको जित क्षेत्र नम्बर–१ का बासिन्दाको जित हुने उल्लेख गर्दै क्षेत्रको विकासका लागि प्रतिबद्धताका साथ काम गर्ने उनले विश्वास व्यक्त गरे।
नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले प्रतिनिधिसभा निर्वाचनमा मुस्लिम समुदायको भूमिका निर्णायक हुने बताउँदै रुंग्टाको विजयले क्षेत्र नम्बर–१ का नागरिक लाभान्वित हुने धारणा राखे।
उम्मेदवार रुंग्टाले आफू निर्वाचित भए क्षेत्रको विकास, जनसमस्याको समाधान र नागरिक अधिकारका लागि संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाए।
उनले यस क्षेत्रका समस्यालाई आफ्नै समस्या ठानेर सम्बन्धित निकायमा पहल गर्ने तथा आवश्यक परे जनतासँग काँधमा काँध मिलाएर अघि बढ्ने बताए।
भेलामा सहभागी जनसमुदायले एक स्वरमा रुंग्टाको समर्थनमा नारा लगाएका थिए।
भेलामा नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार रुंग्टा , उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति महमद सहाबुद्दिनसहित मुस्लिम समुदायका अगुवा कार्यकर्ता तथा स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम नेपाल मुस्लिम संघ पर्साका जिल्ला अध्यक्ष हबिब मियाको अध्यक्षतामा सम्पन्न भएको हो।