ट्रेन्डिङ

महोत्तरीमा ६६ लाख बढीको सखरसहित दुई भारतीय मालवाहक ट्रक नियन्त्रण

जलेश्वर । महोत्तरीबाट गोप्य सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणको सखर (गुड) बोकेका दुई भारतीय मालवाहक ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले पिपरा गाउँपालिका–५ अन्तर्गत जलेश्वर–जनकपुर सडकखण्डमा जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेका यूपी ३८ एटी ४१२५ र बीआर ६ जीएफ ६९२९ नम्बरका भारतीय ट्रकलाई रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा दुवै ट्रकमा लोड गरिएको सखर भन्सार प्रज्ञापनपत्रमा उल्लेखित गन्तव्य जिल्लाभन्दा अन्यत्र लैजान खोजिएको पाइएपछि कागजात शंकास्पद देखिएको प्रहरीले जनाएको छ।

सोही आधारमा ट्रक, सामान तथा चालकसहित नियन्त्रणमा लिइएको हो।
यूपी ३८ एटी ४१२५ नम्बरको ट्रकमा ३१ हजार ९८० केजी सखर रहेको पाइएको छ, जसको अनुमानित मूल्य १२ लाख ७९ हजार २०० रुपैयाँ रहेको छ।

उक्त ट्रकको अनुमानित मूल्य २० लाख रुपैयाँ आँकलन गरिएको छ।

साथै ट्रक चालक भारत उत्तरप्रदेश, सम्मल जिल्ला दिपासराय ग्राम पञ्चायत निवासी करिब ५० वर्षका जाबेद उल इस्लामलाइ नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै बीआर ६ जीएफ ६९२९ नम्बरको ट्रकमा ३३ हजार १०० केजी सखर फेला परेको छ, जसको अनुमानित मूल्य १३ लाख २४ हजार रुपैयाँ रहेको छ।

ट्रकको अनुमानित मूल्य २० लाख रुपैयाँ रहेको बताइएको छ।
यसमा पक्राउ पर्ने ट्रकका चालक भारत, सितामढी जिल्ला रंजितपुर ग्राम पञ्चायत–२ निवासी करिब ३९ वर्षका कृष्णा यादव रहेका छन्।

दुवै ट्रकमा रहेको सखर र ट्रकको कुल अनुमानित मूल्य ६६ लाख ३ हजार २०० रुपैयाँ रहेको जिल्ला प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका ट्रक, सामान र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बारामा बुझाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै