वीरगन्ज । धनुषा जिल्लामा मस्जिदमा तोडफोड र पवित्र कुरान जलाइएको घटनाको विरोधमा आइतबार बिहान वीरगन्जमा मुस्लिम समुदायले प्रदर्शन गरेका छन्।
प्रदर्शन उग्र बन्दै गएपछि अवस्था तनावग्रस्त बनेको र स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
धनुषाको कमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलमा शनिबार मस्जिदमा तोडफोड र कुरान जलाइएको घटनाप्रति आक्रोश जनाउँदै वीरगन्जका विभिन्न स्थानमा प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीहरूले घण्टाघर, छपकैया लगायतका क्षेत्रमा टायर बालेर विरोध जनाएका थिए।
प्रदर्शनका क्रममा केही समूहले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणबाहिर जान थालेको पर्सा प्रहरीले जनाएको छ।

सोही क्रममा छपकैया प्रहरी बिटमा समेत तोडफोड गरिएको थियो।

भीड नियन्त्रणका लागि प्रहरीले बाध्य भएर अश्रुग्यास प्रहार गर्नुपरेको पर्सा प्रहरीका डिएसपी राजु कार्कीले जानकारी दिए।
उनका अनुसार हाल अवस्था सामान्य भइसकेको छ।
मुस्लिम समुदायका अगुवाहरूले जनकपुर क्षेत्रको घटनामा संलग्न दोषीमाथि तत्काल कडा कारबाहीको माग गर्दै अल्पसंख्यक समुदायमाथि आक्रमण अस्वीकार्य भएको बताएका छन्।
घटना के हो ?
धनुषा प्रहरी प्रमुख रुग्म कुँवरका अनुसार घटनाको सुरुवात सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडिओबाट भएको हो।
दुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन प्रति नकारात्मक सन्देश जाने गरी भिडिओ पोस्ट गरेपछि स्थानीय युवाहरू आक्रोशित बनेका थिए।
त्यसपछि केही हिन्दु समुदायका युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै नजिकैको प्रहरी चौकी घेराउ गरेका थिए।
स्थिति नियन्त्रणमा लिन प्रहरीले उक्त भिडिओ पोस्ट गर्ने दुबै युवालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको थियो।
तर, प्रहरी प्रक्रिया चलिरहेकै समयमा केही हिन्दु समुदायका युवाहरूले मस्जिदमा पुगेर तोडफोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषा प्रहरी प्रमुख कुँवरले बताए।
घटनापछि सुरक्षा सतर्कता बढाइएको र दोषी पहिचान गरी कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।
मूलत: यही घटनाका कारण वीरगन्जमा प्रदर्शन गरिएको हो ।