बारा । कलैया उपमहानगरपालिका–स्थित सिद्धेश्वर क्रिकेट खेल मैदानमा सुरु भएको कर्मचारी प्रिमियर लिग (सीपीएल) सिजन–१ क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रादेशिक अस्पताल कलैयाले विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलमा प्रादेशिक अस्पताल कलैयाले कलैया उपमहानगरपालिकालाई ५ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले बलिङ रोजेको अस्पतालले कलैया उपमहानगरपालिकालाई १५ ओभरमा ११६ रनमा सीमित गरेको थियो।
कलैया उपमहानगरपालिकाका लागि सौरभ छेत्रीले २३ बलमा ४४ रन बनाए।
शैलेश मण्डलले १८ बलमा १३ रन तथा दिपक रजकले ११ बलमा ११ रन जोडे।
बलिङतर्फ प्रादेशिक अस्पतालका त्रिपुरारी राउतले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिए।
रञ्जित मिश्राले ३ ओभरमा २९ रन दिएर २ विकेट लिए भने बालकुमारले २ ओभरमा १७ रन खर्चेर २ विकेट हात पारे।
जवाफी ब्याटिङमा प्रादेशिक अस्पताल कलैयाले १४.१ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
म्यान अफ द म्याच घोषित भएका उमेद यादवले ४१ बलमा सर्वाधिक ६५ रनको शानदार इनिङ खेले।
डा. मुकुन्द यादवले ११ बलमा ११ रन बनाएर साथ दिए।
बलिङतर्फ कलैया उपमहानगरपालिकाका लागि रवी साहले ३ विकेट तथा दिपक रजकले २ विकेट लिएको स्कोरर मनु हवारीले जानकारी दिए।
यसैगरी दोस्रो खेलमा आदर्श कोत्वाल गाउँपालिकाले विश्रामपुर गाउँपालिकालाई १ रनको रोमाञ्चक अन्तरले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको आदर्श कोत्वाल गाउँपालिकाले १५ ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो।
अजित पटेलले ३६ रन तथा राम प्रवेशले १६ रन बनाए।
बलिङतर्फ विश्रामपुरका किशनन्दन यादवले ३ ओभरमा १२ रन दिएर २ विकेट तथा रुपेशले २ ओभरमा १३ रन दिएर २ विकेट लिए।
जवाफी ब्याटिङमा विश्रामपुर गाउँपालिकाले १५ ओभरमा १०२ रन मात्र बनाउन सक्यो र १ रनले पराजित हुन पुग्यो।
विश्रामपुरका लागि दिपेन्द्रले ४४ रन तथा किशनन्दन यादवले १८ रन बनाए।
आदर्श कोत्वालका अजित पटेलले ३ ओभरमा ८ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए।
उत्कृष्ट प्रदर्शनका कारण उनी दोस्रो खेलको म्यान अफ द म्याच घोषित भए।
उनलाई आदर्श कोत्वाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसादले ट्रफी हस्तान्तरण गरे।
आयोजकका अनुसार भोलि बिहान ९ बजे मालपोत कार्यालय कलैया र जिल्ला अदालत बारा बीच पहिलो खेल हुनेछ।
त्यस्तै दिउँसो १ बजे सिमरौनगढ नगरपालिका र उच्च अदालत पर्सा बीच दोस्रो खेल हुने स्कोरर मनु हवारीले जानकारी दिए।
प्रतियोगिता पुष ४ गतेदेखि पुष १९ गतेसम्म सञ्चालन हुने नेपाल निजामती कर्मचारी संगठन बारा अध्यक्ष सागर गुप्ताले जानकारी दिए।
प्रतियोगितामा प्रादेशिक अस्पताल कलैया, मालपोत कार्यालय कलैया, कलैया उपमहानगरपालिका, बारा जिल्ला अदालत, सिमरौनगढ नगरपालिका, आदर्श कोत्वाल गाउँपालिका, विश्रामपुर गाउँपालिका तथा उच्च अदालत वीरगञ्जका टोलीहरू सहभागी छन्।
कर्मचारी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना सम्पूर्ण निजामती कर्मचारी बाराले गरेको हो।
उद्घाटन कार्यक्रममा आदर्श कोत्वाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय चौरसिया, नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर, लेखा प्रमुख बजरंगी जयस्वाल, इन्जिनियर किशोर यादवलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।