ट्रेन्डिङ

रौतहटमा अपराध, बेपत्ता र आत्महत्याको ग्राफ: प्रहरी तथ्याङ्कले देखायो चिन्ताजनक तस्वीर

रौतहट । मङ्सिर महिनाको सुरक्षा अवस्थालाई लिएर जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्याङ्कले जिल्लाको सामाजिक सुरक्षा चित्र मिश्रित देखाएको छ ।

अपराध नियन्त्रणमा केही प्रगति देखिए पनि बेपत्ता र आत्महत्यासम्बन्धी तथ्याङ्कले गम्भीर चिन्ता थपेको छ ।

प्रहरीका अनुसार एक महिनामा जिल्लाभर ८८ वटा विभिन्न प्रकृतिका आपराधिक मुद्दा दर्ता भएका छन् ।

तीमध्ये २८ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने ६० वटा मुद्दा अनुसन्धानकै चरणमा छन् ।

सोही अवधिमा विभिन्न अपराधमा संलग्न ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीले जानकारी दिए ।

बेपत्ता हुनेको संख्या उच्च

मङ्सिर महिनामा २७ जना व्यक्ति बेपत्ता भएको उजुरी प्रहरीमा दर्ता भएको छ ।

तीमध्ये ९ जना मात्रै फेला परेका छन् । बेपत्ता हुनेमध्ये महिला र बालबालिकाको संख्या उल्लेख्य देखिएको प्रहरीको विवरणले जनाएको छ ।

घरेलु हिंसाका उजुरी

जिल्ला प्रहरीका अनुसार एक महिनामा घरेलु हिंसासम्बन्धी २८ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये अधिकांश उजुरी मिलापत्रमार्फत समाधान गरिएको छ भने बाँकी उजुरीमा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

आत्महत्याका तथ्याङ्कले चिन्ता

मङ्सिर महिनामा मात्रै २० जनाको आत्महत्यासम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि जिल्लामा सामाजिक चिन्ता बढेको छ ।

तथ्याङ्कअनुसार महिला, पुरुष तथा बालबालिकासमेत यसमा परेका छन् ।

उमेर समूहअनुसार १८ वर्षमुनिका र सक्रिय उमेर समूहका व्यक्तिहरूको संख्या उल्लेख्य रहेको भन्दै प्रहरीले यसलाई गम्भीर सामाजिक चुनौतीका रूपमा हेरिएको जनाएको छ ।

लागूऔषध र सवारी दुर्घटना

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले गाँजा र खैरो हिरोइनसहित अन्य प्रतिबन्धित औषधि बरामद गरेको छ ।

साथै औषधि दुरुपयोगसँग सम्बन्धित केही एम्बुलेन्ससमेत नियन्त्रणमा लिइएका छन् ।

सवारी दुर्घटनातर्फ हेर्दा, मङ्सिर महिनामा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने १६९ जना घाइते भएका छन् ।

ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १० वटा सवारी साधन कारबाहीमा परेका छन् । सो कारबाहीबाट १० लाख ५६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै