काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित हिमाली भूभागका केही स्थानमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ।
त्यस्तै, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ।
अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा नै रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्यत्र खासै मौसमी परिवर्तन देखिने छैन।