काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान प्रक्रिया सञ्चालन हुँदैछ।
पार्टीले काठमाडौँस्थित भृकुटीमण्डपमा मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकेको छ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।
यस्तै, महासचिव पदका लागि ओली समूहबाट शंकर पोखरेल र ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन्।
निर्वाचन विद्युतीय मतदान मेसिनमार्फत् गरिने छ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिने छ।
यस निर्वाचनमा कुल २ हजार २६३ जना प्रतिनिधि सहभागी हुने छन्।
मतदान सम्पन्न भएपछि भृकुटीमण्डपमै मतगणना गरिनेछ।
साथै, मतपरिणाम घोषणा, निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम पनि सोही स्थानमा हुने एमालेले जनाएको छ।