रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ नजिक आज बिहान भएको ट्रक–कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचक नजिक बिहान करिब ८ बजे दुर्घटना भएको हो।
बागमती प्रदेश–०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार ओभरटेक गर्ने क्रममा एक–अर्कामा ठोक्किँदा घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले जानकारी दिए।
दुर्घटनामा कारमा सवार निजगढ–३, बाराका ७९ वर्षीय भक्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
कार चालक निजगढका ३० वर्षीय दिनेश थपलियाको टाउको र अनुहारमा चोट लागेको छ।
त्यस्तै, कारमै रहेका चन्द्रपुर–६ का २० वर्षीय डोरमणि सापकोटालाई छाती दुख्ने समस्या देखिएको ट्राफिक प्रहरीले जनाएको छ।
घटनापछि ट्रक चालक मकवानपुर, हेटौंडा–७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।