ट्रेन्डिङ

बारामा ट्याक्टरले मोटरसाइकल ठक्कर दिँदा एक युवतीको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३, बजनीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ।

जिल्ला प्रहरीका अनुसार जीतपुरसिमरा–७ निवासी २० वर्षीया ज्योतीकुमारी गुप्ताको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले दिएको जानकारी अनुसार सिमराबाट जीतपुरतर्फ गइरहेको ना ३ त १०९८ नम्बरको ट्याक्टरले सोही दिशामा अगाडि बढिरहेको मधेश प्रदेश ०३–०३२ प ९५९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करपछि मोटरसाइकल अनियन्त्रित भएर अगाडिबाटै गुडिरहेको साइकलमा जुधेको प्रहरीको भनाइ छ।

दुर्घटनामा मोटरसाइकल चालक ज्योती गुप्ता, पछाडि सवार आस्था गुप्ता र साइकल चालक जीतपुरसिमरा–२ का ४२ वर्षीय कृष्ण मगर घाइते भएका थिए।

गम्भीर घाइते ज्योती गुप्ताको बयोधा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार अन्य दुबै घाइतेको उपचार भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै