काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्ध दायर रिटमाथिको सुनुवाइ बिहीबार पनि नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि सारिएको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा भएको सुनुवाइमा सुरुवाती समयमै बहस सक्ने अपेक्षा राखिएको थियो।
तर कानुन व्यवसायीले समय अभाव हुने बताएपछि इजलासले थप समय प्रदान गर्यो।
रिट निवेदक पक्षले करिब दुई घण्टा भन्दा बढी बहस गरेपछि मुख्यमन्त्री यादवको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रतिवाद थालेका थिए।
एक घण्टासम्म बहस गर्दा पनि नसकिएपछि इजलासले मुद्दा भोलिसम्मका लागि हेर्दाहेर्दैमा राख्दै आगामी पेसी तोकेको हो।
उक्त रिट मधेश प्रदेशको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले दर्ता गरेका हुन्।
उनीहरूले मुख्यमन्त्री सरोज यादवको नियुक्ति संविधान विपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा हस्तक्षेप माग गरेका छन्।