रौतहट। मधेस प्रदेशमा मुख्यमन्त्रीको ‘असंवैधानिक’ नियुक्ति र प्रदेशसभा सभामुखको पछिल्लो कदमविरुद्ध सात राजनीतिक दलको गठबन्धनले रौतहटको गौरमा विरोध प्रदर्शन गरेको छ।
सात दलिय गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताले सदरमुकाम गौरको घण्टाघर (बिपि चोक)मा टायर बालेर प्रदर्शन गरेको लोसपाका प्रदेश सचिव ओमलोक पटेलले बताए।
असंवैधानिकरूपमा नियुक्त मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमनको छानबिन हुनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्ने माग राखिएको लोसपा नेता पटेलले जानकारी दिए।
आन्दोलनरत गठबन्धनका नेताहरूले नेकपा (एमाले) का सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक भएको भन्दै तत्काल राजीनामाको माग समेत गरेको नेता पटेलले बताए।
लोसपा नेता अनिल सिंहले भने, “मुख्यमन्त्रीको नियुक्ति संविधान विपरीत होटलमा गरिएको हो। प्रदेशसभा सभामुखले अविश्वास प्रस्ताव दर्ता भएपछि सांसदहरूलाई पदमुक्त गर्ने जस्ता कदम चालेका छन्। मुख्यमन्त्री र सभामुखलाई कुर्सीमा बस्न छुट कानुन र जनताले नदिनेछ। यदि दुबैले नैतिकताका हिसाबले तुरुन्त राजीनामा दिएनन् भने हामी अर्को संघर्षको बाटो रोज्नेछौं।”
सात दलका नेताहरूले जनकपुरमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनबाट दर्जनौं कार्यकर्ता घाइते भएकोले छानबिन गरी दोषी सुरक्षाकर्मीमाथि कारबाही हुनुपर्ने माग गरेका छन ।
प्रदर्शनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो।