जनकपुर । सरकार गठनको आह्वान गर्न माग गर्दै मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान गर्न माग गर्दै मधेस केन्द्रित गठबन्धनमा आवद्ध दलहरूले आज प्रदेश प्रमुख सुमित्रा सुवेदीको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
गठबन्धनका नेताहरूले प्रदेश प्रमुखले सरकार गठनका लागि ढिलाइ गरेको भन्दै संविधानको मर्म र प्रावधानको उल्लंघन भइरहेको आरोप लगाएका छन्।
उनीहरूले भने, “संविधान मिच्न पाइदैन, र सरकार गठनमा ढिलाइले जनताको लोकतान्त्रिक अधिकारमा प्रत्यक्ष असर पार्छ।”
प्रदर्शनकारीहरूले सरकार गठनको लागि तत्काल कदम चाल्न प्रदेश प्रमुखलाई आग्रह गरेका छन्।
गठबन्धनका नेताहरूले यदि माग सम्बोधन नभए आन्दोलनलाई थप तीव्र बनाउने चेतावनी पनि दिएका छन्।
प्रदेश राजनीतिक वृत्तले यो घटनालाई आगामी दिनमा सरकार गठन प्रक्रिया र प्रदेश राजनीतिमा महत्वपूर्ण मोड लिएको बताइरहेका छन ।