रौतहट ।नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको ६३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ।
लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहेका आलमको शुक्रबार साँझ काठमाडौं मेडिकल कलेज, सिनामंगलमा निधन भएको हो।
उच्च रक्तचाप, मधुमेहलगायतका स्वास्थ्य समस्या देखिएपछि आलमलाई दशैंअघि नै अस्पताल भर्ना गरिएको थियो।
पछिल्ला दिनमा अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
उनका छोरा डा. राजिक आलमका अनुसार डेढ महिनाअघि भारतको मेदान्त अस्पतालमा उपचारपछि स्वास्थ्यमा केही सुधार आए पनि पछि समस्या पुनः बल्झिएको थियो।
आलम नख्खु कारागारबाट छुटेको केही दिनमै गत जेठ महिनामा मस्तिष्कघात भएका थिए।
त्यसपछिका महिनाहरूमा उनको स्वास्थ्य स्थिर हुन सकेन। उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले उनलाई राजपुर बम विस्फोट प्रकरणमा सफाइ दिएको केही सातामै उनलाई मस्तिष्कघात भएको थियो।
रौतहटको राजपुर निवासी आलम नेपाली काँग्रेसभित्र प्रभावशाली नेताका रूपमा चिनिन्थे।
उनले चार पटकसम्म प्रतिनिधि सभामा क्षेत्र नम्बर २ बाट निर्वाचित भएर प्रतिनिधित्व गरेका थिए।
आलमले २०३६ सालमा नेपाल विद्यार्थी संघमार्फत् राजनीतिक यात्रा सुरु गरेका थिए।
पार्टीभित्र सक्रिय रहँदै उनले कांग्रेस रौतहटको जिल्ला सभापति, केन्द्रीय सदस्य र विभिन्न समयमा राज्यमन्त्री र मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए।
२०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले उनलाई श्रम राज्यमन्त्री नियुक्त गरेको थियो।
त्यसपछि उनले गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वन राज्यमन्त्री, कृष्णप्रसाद भट्टराई सरकारमा स्थानीय विकास राज्यमन्त्री र पछि भूमिसुधार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
२०६५ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले उनलाई श्रम तथा यातायात मन्त्री बनाएको थियो।
उनको राजनीतिक जीवन उतार–चढावले भरिएको रह्यो। पहिलो संविधानसभा निर्वाचनअघि भएको राजपुर बम विस्फोट प्रकरणमा उनलाई जन्मकैदको सजाय भए पनि पछि उच्च अदालतले सफाइ दिएको थियो।
आलमका परिवारमा दुई छोरा र एक छोरी छन्। जेठो छोरा डा. फिरदोस र कान्छो छोरा डा. राजिक आलम हुन्।
राजिक हाल राजपुर नगरपालिकाका नगरप्रमुख छन्।