वीरगन्ज । वीरगन्जस्थित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा ‘समाचार वाचन प्रतियोगिता (Anchoring/Presentation Contest)’ आयोजना गर्ने भएको छ।
सामुदायिक सञ्चार क्षेत्रमा दुई दशक लामो सफल यात्रा पूरा गरेको स्मरणमा आयोजना गर्न लागिएको उक्त प्रतियोगिताको उद्देश्य स्थानीय प्रतिभाको पहिचान, प्रोत्साहन र समाचार प्रस्तुतीकरण सीप विकास गर्नु रहेको एफएमले जनाएको छ।
एफएमका कार्यकारी निर्देशक शिवनाथ यादवका अनुसार नारायणी एफएमले विगत दुई दशकदेखि समुदायका आवाजलाई मुखरित गर्दै समाचार, शिक्षा, मनोरञ्जन र सामाजिक सचेतनाका कार्यक्रमहरू प्रसारण गर्दै आएको छ।
उनका अनुसार, यस अवधीमा एफएमले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्न सफल भएको छ।
वार्षिकोत्सव विशेष कार्यक्रमअन्तर्गत आयोजना हुने यस प्रतियोगिताबाट युवाहरूलाई सञ्चार क्षेत्रमा अभिव्यक्ति र अवसर प्रदान गरिने छ।
उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने जनाइएको छ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः रु. २० हजार, १५ हजार ,१० हजार र रु. ५ हजार राखिएको छ।
प्रतियोगिता मंसिर ६ गते (शनिबार) सञ्चालन गरिनेछ भने कार्यक्रम स्थलको विवरण पछि सार्वजनिक गरिने यादवले जानकारी दिए।
सहभागी हुन इच्छुकहरूले नारायणी एफएमको वेबसाइटमा रहेको “Apply Now” बटनमार्फत आवेदन फाराम डाउनलोड गरी एफएम कार्यालयमा प्रत्यक्ष बुझाउन सक्ने छन्।
फाराम कार्यालयमै पनि उपलब्ध हुने बताइएको छ।
फाराम बुझाउने अन्तिम मिति मंसिर १ गते साँझ ५ बजेसम्म तोकिएको छ।
प्रतियोगितामा कुनै उमेर सीमा नराखिएको र प्रतिस्पर्धीहरूले आफूलाई सहज हुने भाषामा समाचार वाचन गर्न सक्ने व्यवस्था गरिएको एफएमले जनाएको छ।
एफएमले सञ्चार क्षेत्रमा रुचि राख्ने सम्पूर्ण प्रतिभाहरूलाई समयमै आवेदन दिई आफ्नो क्षमता प्रदर्शन गर्न आह्वान गरेको छ।