सप्तरी । सप्तरी प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब साढे ९ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
विभिन्न समयमा भन्सार छली गरी ल्याइएका कपडा र किराना सामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवम् प्रवक्ता डम्बर बहादुर पुरीका अनुसार, बरामद सामानहरूको कुल मूल्य ९ लाख ४२ हजार रुपैयाँभन्दा बढी रहेको छ ।
उनले बरामद गरिएका ती सामान कारबाहीका लागि आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा पठाइएको बताए ।
प्रहरीले सीमाक्षेत्र हुँदै हुने भन्सार छली नियन्त्रणका लागि निगरानी कडा पारेको जनाएको छ ।
हालै बढ्दो भन्सार छलीका गतिविधिलाई रोकथाम गर्न प्रहरी र भन्सार कार्यालयबीच सहकार्य बलियो बनाइएको प्रहरीको भनाइ छ ।