जनकपुर । धनुषाका प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा प्रशासन र व्यापारी प्रतिनिधिबीच भएको छलफल सहमति गर्दै टुंगिएको छ।
सहमति पछि जनकपुरधामका व्यापारीहरूले सञ्चालनमा ल्याएका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको बैठकमा प्रहरी प्रशासनका अधिकारीहरू र जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीबीच लामो छलफलपछि सहमति जुटेको हो।
व्यापारीहरूले गत असोज ३१ गते जनकपुरधामको सोनरपट्टी बजार क्षेत्रमा प्रहरीले दमन तथा कुटपिट गरेको भन्दै आन्दोलन थालेका थिए।
छलफलमा उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने, बजार सञ्चालनका लागि सुरक्षित र सहज वातावरण सुनिश्चित गर्ने तथा व्यापारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने विषयमा सहमति भएको जनाइएको छ।
सहमति पश्चात् जनकपुरधामको बजारहरू पुनः सामान्य रूपमा सञ्चालनमा फर्किएका छन्।
उक्त विवाद धनतेरसको पूर्वसन्ध्यामा उत्पन्न भएको थियो, जब प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा सोनरपट्टी बजार क्षेत्रमा छापा मारेको थियो।
छापाका क्रममा करिब सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरूले विरोध जनाएका थिए।
उनीहरूले प्रहरीमाथि छापाको नाममा लुटपाट गरेको आरोप समेत लगाएका थिए।