चितवन । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति दुई यात्रुबाहक बस र ट्रक ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार राति पौने २ बजेतिर इँटा लोड गरेर सडक किनारमा पार्किङ गरिएको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौँ जाँदै गरेको बा.प्र.०३–००१ ख ०१२३ नम्बरको डल्फिन बस ठोक्किएको थियो।
त्यसपछि त्यसै पछाडि आइरहेको जनकपुरबाट काठमाडौँतर्फ गइरहेको रुद्राक्ष बस (बा.प्र.०३–००१ ख ३९०२) पनि सोही ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनापछि बस सडकमै पल्टिँदा केही समय पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो।
सशस्त्र प्रहरी बल नम्बर १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि पठाएको थियो।
चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।
तीमध्ये केहीको अवस्था मध्यम रहे पनि अधिकांशको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनापछि सशस्त्र प्रहरी निरीक्षक सन्दीप भट्टको कमाण्डमा उद्धार टोली घटनास्थल पुगेको थियो।
सडकमा पल्टिएका बस र ट्रकलाई क्रेनको सहायताले हटाएपछि बिहान करिब ३ बजेदेखि यातायात सञ्चालनमा आएको हो।
यसैबीच, दुर्घटनामा संलग्न रुद्राक्ष बसका चालक धनुषा जिल्ला सहिद नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार दुर्घटनाका सबै घाइते यात्रुको परिचय सार्वजनिक गरिएको छ, जसमा उदयपुर, धनुषा, रौतहट, महोत्तरी लगायतका जिल्लाका साथै भारत मोतिहारीका यात्रुहरू पनि रहेका छन्।