ट्रेन्डिङ

छठ पर्व : राष्ट्रपति पौडेल गुहेश्वरीमा पूजामा सहभागी, प्रधानमन्त्री कार्की कमलपोखरी जाने

वीरगन्ज। श्रद्धा र आस्थाको महापर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ। यसै अवसरमा देशको राजनीतिक नेतृत्व पनि छठ पर्वको हर्षोल्लासमा सहभागी भएको छ।

प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी हुने भएकी छिन्। प्रधानमन्त्री कार्की दिउँसो सवा ४ बजे काठमाडौंको ऐतिहासिक कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी हुने जनाइएको छ ।

यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेल पनि छठ पूजामा सहभागी भएका छन् । सोमबार राष्ट्रपति पौडेल गुहेश्वरी पुगेर सूर्यदेवसहित छठी माताको पूजा आराधना एवं अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेका हुन् । परम्परागत रूपमा राष्ट्रपतिले गुह्येश्वरी र कमलपोखरी दुवै घाटमा अर्घ्य दिने चलन रहे पनि यस वर्ष भने उनी गुहेश्वरीमा मात्रै सहभागी भएका छन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको आज तेस्रो तथा मुख्य दिन हो। अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन भएकाले सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। ब्रतालुहरूले आज रातभर जाग्राम बसेर भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ।

छठ पर्वलाई भव्य रूपमा मनाउनका लागि गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानहरूमा रहेका छठ घाटहरूलाई आकर्षक ढंगले सजाइएको छ। छठी माताको भक्तिमा लीन व्रतालु तथा पर्व हेर्ने सर्वसाधारणहरूको पनि छठ घाटमा उल्लेख्य भीड रहेको छ। भक्तजनहरू पूजा सामग्रीसहित नदी वा पोखरीको किनारमा भेला भई अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन तयार भएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै