ट्रेन्डिङ

सिरहा र रौतहटमा पोखरी तथा नदीमा डुबेर ४ जनाको मृत्यु

जनकपुरधाम । मधेश प्रदेशका सिरहा र रौतहट जिल्लामा आइतबार एकै दिन पोखरी र नदीमा डुबेर चार जनाको दुःखद् मृत्यु भएको छ। प्रहरीका अनुसार, यस दुर्घटनामा दुई बालक/बालिका समेत परेका छन्।

सिरहाको अर्नमा गाउँपालिकामा पोखरीमा डुबेर एक वृद्धको ज्यान गएको छ। अर्नमा–५, पछवारीका ८० वर्षीय फुसयाही यादवको धोबियाही पोखरीमा डुबेर आइतबार बिहान मृत्यु भएको हो।

यसैगरी, सिरहा नगरपालिका–५, मानपुरस्थित कमला खोलामा डुबेर १९ वर्षीय निसान गोहीवारको मृत्यु भएको छ। खोलामा डुबेर गम्भीर भएका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल सिरहामा आइतबार दिउँसो निधन भएको प्रहरीले जनाएको छ।

यसैगरी रौतहटको ईशनाथ नगरपालिका–८, मन्सरी टोलस्थित कुडिया खोलामा डुबेर ८ वर्षीय बालक अनिश बैठाको मृत्यु भएको छ। खोलामा डुबेपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारकै क्रममा आइतबार दिउँसो ज्यान गएको हो।

यसैगरी, रौतहटको बौधिमाई नगरपालिका–८, इनरवा पुलस्थित लाल बकैया खोलामा डुबेर १२ वर्षीया बालिका सकुन्तलाकुमारी साहको पनि आइतबार दिउँसो मृत्यु भएको छ।

प्रहरीले यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै