वीरगन्ज । गृह मन्त्रालयले देशमा फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउन सरकार क्रियाशील रहेको भन्दै अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न सबैलाई अनुरोध गरेको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठित वर्तमान सरकार निर्वाचनकेन्द्रित वातावरण निर्माणमा जुटिरहेको अवस्थामा सामाजिक सञ्जालमार्फत विभिन्न आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
मन्त्रालयले देशमा अस्थिरता निम्त्याउन खोज्ने ‘स्वार्थ समूह’ले यस्ता प्रदर्शनहरूमा घुसपैठ गरी अशान्ति र अराजकता फैलाउन सक्ने खतरा औँल्याएको छ। आयोजकहरूलाई समेत यस विषयमा सचेत रहन विज्ञप्तिमा आग्रह गरिएको छ।
सरकारले निर्वाचनसम्बन्धी कानुन संशोधन, श्रोत(साधनको व्यवस्थापन र राजनीतिक दलहरूसँग वार्ता गरिरहेको जानकारी गराउँदै मन्त्रालयले माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिने जस्ता मौलिक अधिकारहरू कुण्ठित हुन नदिन आग्रह गरेको छ।
मन्त्रालयले सबैको जायज माग र चासोलाई सम्बोधन गर्न सरकार सदैव तत्पर रहेको स्पष्ट पार्दै, धर्ना र जुलुसको सट्टा वार्ता र संवादका माध्यमबाट विधिसम्मत समाधान खोज्न सबै पक्षलाई हार्दिक अनुरोध गरेको छ।
