वीरगन्ज । काठमाडौँ महानगरपालिकाले यस वर्षको महत्त्वपूर्ण छठ पर्व व्यवस्थित रूपमा मनाउनका लागि महानगरभित्र आठ स्थान तोकेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिएको जानकारीअनुसार, कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटमा छठ पर्व मनाउन अनुमति दिइएको छ।
महानगरले यी सबै तोकिएका स्थानहरूमा सरसफाइ र व्यवस्थापनको काम सुरु गरिसकेको जनाएको छ। पर्वको तयारीका लागि ३०० भन्दा बढी सरसफाइकर्मीहरू खटाइएको र छठ पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न कुनै कमी नहुने गरी तयारी भइरहेको प्रमुख पाण्डेले बताए ।
यस क्रममा पाण्डेले छठ मनाउने स्थानहरूमा पैसा उठाउने कार्य पूर्णरूपमा निषेध गरिएको स्पष्ट पारेका छन् । यदि कसैले कुनै प्रकारको शुल्क लिन खोजेमा तत्काल जानकारी गराउन उनले सर्वसाधारणलाई आग्रह गरे । साथै, तोकिएका ठाउँहरूमा सवारी पार्किङ नगर्न पनि अनुरोध गरिएको छ। यस वर्ष छठ पर्व कार्तिक १० गते सोमबार मनाइँदैछ।