वीरगन्ज । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन जना बालिकाको ज्यान गएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार जानकी गाउँपालिका–५, पथरैया गुजरुवास्थित सातविघा नजिकैको नहरमा नुहाउने क्रममा उनीहरू डुबेका थिए।
ज्यान गुमाउनेहरूमा टीकापुर नगरपालिका–१ ब्लक नं. १५ निवासी जुम्ल्याहा दिदीबहिनी निशा बजगाईं र मानुषी बजगाईं रहेका छन्। उनीहरू दुवै टीकापुरस्थित जनजागृति माध्यमिक विद्यालय, सीतापुरमा कक्षा ५ मा अध्ययनरत थिए। तेस्री मृतक बालिका जानकी गाउँपालिका–५, गुजरुवाकी सुलोचना तिमिल्सेना हुन्, जो सरस्वती माध्यमिक विद्यालय, दुर्गौलीमा कक्षा ४ मा पढ्थिन्।
प्रहरी नायब उपरीक्षक डाँगीले दिएको जानकारीअनुसार जुम्ल्याहा दिदीबहिनी निशा र मानुषी आफन्तको घरमा गएका बेला सुलोचनासँगै नहरमा नुहाउन गएका थिए। नुहाउने क्रममा नै उनीहरू डुबेर ज्यान गुमाउन पुगेका हुन्।
यस घटनाले स्थानीय क्षेत्र शोकमग्न बनेको छ। तीनै जना बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। एकैपटक तीनजना बालिकाहरूको ज्यान गएपछि सिंगो टीकापुर र जानकी गाउँपालिका स्तब्ध बनेको छ।