ट्रेन्डिङ

छठपछि सोनल सरकार विश्वास मत परीक्षणमा; सत्ता गठबन्धनसँग ५४ भन्दा बढी समर्थन

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले छठ पर्वको समापनसँगै प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्।

संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्रीले नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ। सोनल असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

चाडपर्वका कारण प्रक्रिया अलि ढिलो भएको जनाउँदै उनले छठपछि विश्वासको मतका लागि प्रस्ताव पेश गरिने बताएका छन्।

सोनल जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा गठन भएको पाँचदलीय गठबन्धनको समर्थनमा सरकारको नेतृत्वमा आएका हुन्।

गठबन्धनमा जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एकीकृत समाजवादी सहभागी रहेका छन्।

यी दलहरूको संयुक्त सांसद संख्या ५७ रहेको छ। जसमा जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्।

१०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि न्यूनतम ५४ मत आवश्यक पर्छ।

यद्यपि गठबन्धनसँग आवश्यकभन्दा तीन मत बढी भएकाले विश्वासको मत सहजै प्राप्त हुने राजनीतिक विश्लेषण गरिँदैछ।

छठपछि विश्वास मत परीक्षणबाट सोनल नेतृत्वको सरकार औपचारिक रूपमा स्थायी हुने अपेक्षा सरकार पक्षले गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै