ट्रेन्डिङ

सरकार फागुन २१ को निर्वाचन तयारीमा जुटिसकेको छ : प्रधानमन्त्री कार्की

वीरगन्ज । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई सफल पार्न आफ्नो सरकार पूर्ण रूपमा प्रतिबद्ध भएर लागेको स्पष्ट पारेकी छन्।

नेपाल संवत्को अवसरमा बुधवार काठमाडौंको वसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको माहोल सिर्जना गर्न ‘दत्तचित्त’ भएर लागिरहेको जानकारी दिइन्।

‘विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गर्दै आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार कटिबद्ध छ,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन सरकारले राजनीतिक दलहरू र विशेष गरी जेनजी समुदायसँग निरन्तर संवाद गरिरहेको बताइन्। ‘प्रत्येक दिन राजनीतिक दलहरू र परिवर्तनका संवाहक जेनजी समुदायसँग पनि कुन न कुन माध्यमबाट निरन्तर संवाद र सम्पर्कमा छौं,’ उनले थपिन्।

यद्यपि, उनले निर्वाचन मात्र सरकारको एकल प्राथमिकता नरहेको प्रस्ट पारिन्। ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको भन्ने होइन,’ उनले जोड दिइन्।

कार्कीले जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व सरकारमाथि रहेको स्वीकार गर्दै संवैधानिक दायित्व र भ्रष्टाचार नियन्त्रणको कार्य पनि साथसाथै अघि बढिरहेको जानकारी गराइन्। उनले यसमा परिणाम देखिने गरी राज्यका संयन्त्रहरू परिचालन गरिएको दाबी समेत गरिन्।

प्रधानमन्त्रीले लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न सबैलाई आह्वान पनि गरिन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै