केरल। शबरीमाला यात्राका लागि केरला पुगेकी भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई बोकेको हेलिकप्टर बुधबार बिहान अवतरण गर्ने क्रममा दुर्घटनाबाट जोगिएको छ।
अवतरणको क्रममा हेलिकप्टरको पाङ्ग्रा भर्खरै बनेको कङ्क्रिट हेलिप्याडमा धसिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार, यो घटना प्रमादमस्थित राजीव गान्धी इन्डोर स्टेडियममा निर्माण गरिएको अस्थायी हेलिप्याडमा भएको हो।
राष्ट्रपति मुर्मु सडकमार्ग हुँदै पम्बा प्रस्थान गरिसकेपछि मात्र घटनाका दृश्यहरू टेलिभिजन च्यानलहरूले प्रसारण गरेका थिए।
प्रसारित दृश्यहरूमा प्रहरी र दमकलका कर्मचारीहरूले हेलिकप्टरको पाङ्ग्रा निकाल्न प्रयास गरिरहेको देखिएको थियो।
जिल्लाका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार स्टेडियमलाई हेलिकप्टर अवतरणस्थलका रूपमा अन्तिम समयमा मात्र तोकिएको थियो।
सोही कारण हेलिप्याड मंगलबार ढिलो रातमा मात्रै निर्माण गरिएको बताइएको छ।
सौभाग्यवश, यस घटनामा कुनै मानविय क्षति भएको छैन।
राष्ट्रपति मुर्मुको यात्रा तालिका अनुसार नै अघि बढाइएको भारतीय अधिकारीहरूले जनाएका छन्।