वीरगन्ज । विश्वव्यापी भूराजनीतिक अस्थिरता र आर्थिक अनिश्चितताको बीचमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले कीर्तिमानी वृद्धि हासिल गरेको छ।
पछिल्लो एक महिनामा सुनको भाउमा १७.७ प्रतिशतको भारी वृद्धि भएको छ। शुक्रबार बजार बन्द हुँदा प्रतिऔंस सुनको मूल्य ४ हजार २४९ अमेरिकी डलर कायम भएको छ। एक औंस बराबर २.४३ तोला हुन्छ।
सुनको भण्डारणलाई मजबुत अर्थतन्त्रको आधार मान्ने गरिन्छ। विश्वभरका केन्द्रीय बैंकहरू बढ्दो मूल्य वृद्धि, मुद्राको उतारचढाव र भूराजनीतिक अस्थिरताको जोखिमविरुद्ध सुरक्षा कवचको रूपमा सुनको मौज्दात बढाउनमा केन्द्रित छन्।
वर्ल्ड गोल्ड काउन्सिलको २०२४ को अन्त्यसम्मको तथ्यांकअनुसार, विश्वभरका मुलुकसँग कुल ३५ हजार ९३८ टन सुन मौज्दात छ। यसमध्ये शीर्ष १० ठूला अर्थतन्त्रसँग मात्रै २६ हजार ३६२ टन (अर्थात् ७३ प्रतिशत) सुनको मौज्दात रहेको छ। नेपालसँग भने करिब ८ टन (७.९९ टन) सुन मौज्दात रहेको तथ्यांक छ।
समग्र परिमाणको आधारमा अमेरिका सबैभन्दा ठूलो सुन भण्डारक मुलुक हो। अमेरिकासँग ८ हजार १३३ टन सुन मौज्दात छ, जसअनुसार प्रतिव्यक्ति २३.९ ग्राम सुन मौज्दात हुन आउँछ।
परिमाणमा दोस्रो र तेस्रो स्थानमा क्रमशः जर्मनी ३,३५१.६ टन र इटाली २,४५१.९ टन छन्। तर, प्रतिव्यक्ति मौज्दातको हिसाबले भने स्वीट्जरल्यान्डले विश्वलाई उछिनेको छ। कुल १ हजार ३९.९ टन सुन मौज्दात रहेको स्वीट्जरल्यान्डको जनसंख्या ८८ लाख मात्रै भएकाले यहाँ प्रतिव्यक्ति ११८.२ ग्राम सुन मौज्दात छ।
ठूला जनसंख्या भएका मुलुकहरूमा भने प्रतिव्यक्ति मौज्दात निकै कम छ। उदाहरणका लागि, चीनसँग २ हजार २७९.६ टन सुन भए पनि १ अर्ब ४२ करोड जनसंख्याका कारण प्रतिव्यक्ति जम्मा १.६ ग्राम सुन मौज्दात छ। त्यसैगरी, विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतसँग ८७६.२ टन सुन मौज्दात छ, जसले प्रतिव्यक्ति ०.६० ग्राम मात्रै सुन हुन आउँछ।
शीर्ष १० भण्डारक देशहरूमा क्रमशः अमेरिका, जर्मनी, इटाली, फ्रान्स (२,४३७ टन), रसिया (२,३३३ टन), चीन, स्वीट्जरल्यान्ड, भारत, जापान (८४६ टन) र नेदरल्यान्ड (६१२.५ टन) रहेका छन्। यीबाहेक ताइवान, उज्वेकिस्तान, पोल्यान्ड र साउदी अरेबिया जस्ता मुलुकहरू पनि ठूलो सुन भण्डारण गर्ने देशको सूचीमा पर्दछन्।