वीरगन्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठिरहेका बेला भावुक हुँदै अध्यक्ष पद त्याग गर्न तयार रहेको घोषणा गरेका छन्।
उनले पदभन्दा देश बचाउनु महत्त्वपूर्ण रहेको भन्दै यसका लागि जुनसुकै बलिदान दिन तयार रहेको दाबी गरेका हुन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘कतिपय मानिसहरूले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड्। म पार्टी अध्यक्ष मात्रै होइन, के बलिदान गर्न पर्छ म गर्न तयार छु। आजै म तपाईंहरूको अगाडि घोषणा गर्न चाहन्छु। देश बच्न पर्यो। हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो।’
पछिल्लो समय माओवादी केन्द्रभित्र युवा नेताहरूले पार्टी नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको आवाज बलियो बनाउँदै आएका छन्। प्रचण्डको यो घोषणा सोही आन्तरिक दबाबप्रति लक्षित रहेको बुझिएको छ।
आफ्नो भनाइलाई थप स्पष्ट पार्दै उनले केन्द्रीय समितिलाई आयोजक समिति र अध्यक्षलाई संयोजकमा रूपान्तरण गर्न सकिने संकेत दिए। ‘अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ, जस्तोसुकै त्याग गर्न म तयार छु, मैले भनिराखेको छु,’ उनले थपे।
प्रचण्डले आफू मात्र नभई सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई पनि राष्ट्रको निम्ति त्याग गर्न तयार रहन अपिल गरे। उनले आफ्ना कार्यकर्ताहरूलाई नेतृत्व परिवर्तनको बहसबाट विचलित नहुन समेत आग्रह गरेका छन्।
प्रचण्डको यो ुबलिदानु सम्बन्धी अभिव्यक्तिले पार्टीको आगामी महाधिवेशन र नेतृत्व चयनको प्रक्रियामा महत्त्वपूर्ण मोड ल्याउन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।