कलैया । जिल्ला प्रहरी कार्यालय बाराले आज मनाएको ७० औं प्रहरी दिवसको मूल समारोहलाई जिल्लाका सञ्चारकर्मीहरूले सांकेतिक रूपमा बहिष्कार गरी विरोध जनाएका छन्।
प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङको दम्भपूर्ण व्यवहार र नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदीलाई मानसिक प्रताडना दिएको घटनालाई लिएर पत्रकारहरूले आपत्ति जनाएका हुन्।
पत्रकारहरूको भनाइअनुसार, सामाजिक सञ्जालमा गालीगलौज गरिएको भन्दै एकजना पत्रकारले उजुरी दिएको विषयमा एसपी तामाङले अध्यक्ष सुबेदीलाई दुई दिनसम्म मानसिक प्रताडना दिएका थिए। यस घटनामा प्रहरी प्रमुख तामाङ कानुनका पालकको भूमिका निर्वाह गर्नुको सट्टा जाहेरीकर्ताको पक्षमा वकालत गरेको र एक कदम अगाडि बढेर पूर्वाग्रही बनेको आरोप सञ्चारकर्मीहरूको छ।
वरिष्ठ पत्रकारहरूले पत्रकारबीचको व्यक्तिगत कुरामा प्रहरी प्रमुखले रिसिबी साध्नु कानुनको गलत फाइदा उठाउनु रहेको टिप्पणी गरेका छन्।
सतहमा गालीगलौजको उजुरी देखिए पनि, यस घटनाको भित्री कारण दशैंको दुई दिनअगाडि अध्यक्ष सुबेदीले एसपी तामाङको विषयमा लेखेको समाचार नै रहेको बताइन्छ। पत्रकारहरूको साझा समस्या नेपाल पत्रकार महासंघले समाधान गर्ने प्रचलन रहँदा रहँदै तामाङले गरेको हस्तक्षेपलाई ‘सासू कुटेर बुहारी तर्साउने’ प्रवृत्तिको सांकेतिक विरोधको रूपमा सञ्चारकर्मीहरूले लिएका छन्।
यद्यपि, अध्यक्ष सुबेदीले महासंघले बहिष्कार गर्ने कुनै आधिकारिक निर्णय नगरेको बताए पनि जिल्लाका प्रायः सबै श्रमजीवी पत्रकारहरूले विरोधमा सहभागी भएर एसपीको दम्भप्रति आक्रोश व्यक्त गरेका छन्।
नेपाल प्रहरीको इतिहासमा अहिलेसम्म बारामा नेपाल पत्रकार महासंघले यस किसिमले कार्यक्रम बहिष्कार नगरेको जनाइएको छ। पत्रकारहरूले जिल्ला प्रहरी कार्यालय बाराले एतिहासिक कार्यक्रममा बिना मापदण्ड केवल राष्ट्रिय मिडियालाई रिझाउने प्रयास गरेको आरोप पनि लगाएका छन्।
पछिल्लो समय जिल्लामा शान्ति सुरक्षामा ध्यान नदिएको र तस्करीको लाइन मिलाउनेहरूसँग प्रहरीको साँठगाँठले स्थानीयमा आक्रोश बढ्दै गएको अवस्थामा, पत्रकारले यस विषयमा समाचार लेख्दा अहिले बारा प्रहरी र पत्रकार महासंघबीचको सम्बन्ध अत्यन्तै चिसिएको बताइएको छ।