वीरगन्ज । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताका विषयमा चर्को धारणा राखेका छन् ।
उनले पार्टी विधानमा रहेको दुई कार्यकालको व्यवस्थाको स्मरण गराउँदै ओलीलाई अब नेतृत्व हस्तान्तरणका लागि तयार रहन आग्रह गरेका छन् ।
नेता बास्कोटाले पार्टी नेतृत्वको सीमाबारे प्रष्ट बोल्दै भने, ‘दुई कार्यकाल ओलीले आफैँले लडेर राखेको व्यवस्था भएकाले त्यसमा जानुपर्छ, महाधिवेशन आइसकेको हुनाले अब नेतृत्वको छिनोफानो त्यहीँ हुन्छ। दुई कार्यकाल तपाईंले लडेर विधानमा राखेको हो, त्यसमा अडिनुस्।’ उनले विधानको व्यवस्था अध्यक्षले आफैँले ल्याएकाले त्यसको पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
बास्कोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता रोकेको विषयमा पनि अध्यक्ष ओलीलाई प्रश्न गरेका छन्। उनले भने, ‘विद्या भण्डारीको सदस्यता हिजो किन रोकेको ? अध्यक्षले किन रोकेको ? विद्याको सदस्यता रोकेकोमा हिजो पनि मेरो असहमति थियो आज पनि असहमति हो।’ उनले पार्टी नेतृत्वले गरेको यो निर्णय गलत रहेको बताउँदै आफ्नो असहमति सार्वजनिक गरेका हुन् ।
पछिल्लो समय भएको जेनजी आन्दोलन र त्यसक्रममा उत्पन्न परिस्थितिलाई लिएर बास्कोटाले तत्कालीन सरकारको कमजोरी औँल्याएका छन् । उनले यस्तो हिंसात्मक तयारीबारे सरकारले थाहा नपाउनु र थाहा पाएको भए पनि रोकथाम गर्न नसक्नु दुवै ठूलो कमजोरी भएको स्पष्ट पारे ।
‘६ पटक संसद् खोसियो, ३ पटक हामीले हाम्रो विघटन असफल भयो, जनतामा जाँदा के लिएर जाने ?’ भन्दै उनले पार्टीभित्र विगतका कमजोरीहरू सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।