वीरगन्ज । नेकपा एमालेको दशौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र पार्टीको कार्यशैलीमाथि केन्द्रीय सदस्य अरविन्द सिंह कठोर रुपमा प्रस्तुत भएका छन् ।
सिंहले विशेषगरी ओलीको नेतृत्वमाथि जनताको आक्रोश बढेको भन्दै पार्टीको भविष्य बचाउन ‘जिम्मेवारी हस्तान्तरण नै एक मात्र उपाय’ भएको तर्क प्रस्तुत गरेका छन् ।
सिंहले पार्टीको राजनीतिक विश्लेषणको कमजोरी औँल्याउँदै भदौ २२ गतेको राजनीतिक प्रतिवेदन २४ घण्टा नपुग्दै ‘फेल’ भएको टिप्पणी गरे । ‘हाम्रा विश्लेषणहरू वस्तुनिष्ट हुने गरेका छैनन्। नेतृत्वले के सुन्न रुचाउँछन्, त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सक्किने बाटोमा लैजान्छ,’ उनले भने । सतही विश्लेषणले पार्टीलाई अझै गहिरो संकटमा धकेल्ने निश्चित रहेको उनको भनाइ छ।
केन्द्रीय सदस्य सिंहले पार्टीभित्र भ्रष्टाचार र व्यभिचारका आरोपमा मुछिएका नेताहरूलाई कारबाही गर्न नसक्दा पार्टीले नैतिक बल गुमाएको आरोप लगाए । उनले प्रश्न गरे, ‘भ्रष्टाचार र व्यभिचारका डेढ दर्जन भन्दा बढी आरोपहरूमा आरोपितहरू हामी यहीँ छौँ। त्यसको छानबिन गरेर कारबाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने ? कि बोल्दै नबोल्ने ?’ उनले सरकारमा रहेका बेला भएका घटनाको वस्तुनिष्ठ समीक्षा गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।
सिंहको भनाइमा, अहिले जनताको आक्रोश नेकपा एमालेभन्दा पनि सीधै पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि लक्षित छ। यो यथार्थलाई स्वीकार्दै अध्यक्ष ओलीले जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य सुरक्षित गर्ने एक मात्र विकल्प भएको उनको ठोकुवा छ। उनले ‘युवा विद्यार्थी र आम जनता स्वतस्फूर्तरुपमा सरकारका विरुद्धमा सडकमा आउनु’ प्रतिगमन नभई कुशासन र भ्रष्टाचार विरुद्धको संघर्ष भएको भन्दै पार्टीको विश्लेषणलाई सच्याउन आग्रह गरे ।
अरविन्द सिंहले पार्टीकी पूर्व उपाध्यक्ष विद्या भण्डारीको सदस्यता नवीकरण गरी उनलाई पुनः सक्रिय भूमिकामा फर्काउने वातावरण बनाउनुपर्ने महत्त्वपूर्ण सुझाव पनि दिए । यसका साथै, उनले दुई पटक संसद विघटन गर्ने पार्टीले पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा आम जनतामा घृणाको पात्र बन्ने चेतावनी दिँदै, कमजोरी सच्याएर चुनावमा जानुको विकल्प नभएको धारणा राखे । केन्द्रीय कमिटी बैठकमा ठाकुर गैरे, ईश्वरी जीएम र उषाकिरण तिम्सेनालगायतका नेताहरूले पनि आत्मालोचनाको समय सकिएको भन्दै पार्टीको रूपान्तरणको साझा माग राखेका छन्।