ट्रेन्डिङ

धार्मिक र साम्प्रदायिक घटनाहरू रोक्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

वीरगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले पछिल्लो समय देशका केही भागमा देखिएका धार्मिक तथा साम्प्रदायिक घटनाहरूले राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती थपेको बताएका छन् ।

७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई तत्काल ‘इन्टरभेन्ट’ गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री अर्यालका अनुसार केही जिल्लाहरूमा देखिएका धार्मिक तथा साम्प्रदायिक विरोधका घटनाहरूले नेपाली समाजको मुख्य विशेषताको रूपमा रहेको आपसी सद्‍भाव, सहिष्णुता र भाइचारामा खलल पुर्‍याउने प्रयास गरेको छ। उनले भने, ‘यसले समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा चुनौती थपेको छ।’

मन्त्री अर्यालले यस्ता गतिविधिको बेलैमा रोकथाम गरी भविष्यमा पुनरावृत्ति हुन नदिन गम्भीरतापूर्वक लाग्न सुरक्षा निकायलाई निर्देशित गरेका छन् ।

गृहमन्त्री अर्यालले हालै भदौ २३ र २४ गते जेनजी युवा समूहद्वारा आयोजित विरोध प्रदर्शन र आन्दोलनले नागरिकमा बढेको असन्तुष्टि र निराशालाई प्रतिबिम्बित गरेको बताए । उनले सीमित स्रोत साधनमा काम गरिरहेका प्रहरीलाई यस आन्दोलनले ठूलो क्षति पुर्‍याएको उल्लेख गरे ।

मन्त्री अर्यालले प्रहरी हरेक सामाजिक घटनामा ‘फर्स्ट रेस्पोन्डर’ र कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहने भएकाले सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत प्रहरी नै निशानामा पर्ने गरेको स्पष्ट पारे ।

उक्त विरोध प्रदर्शनमा नेपाल प्रहरीका तीन जना होनहार कर्मचारीले आफ्नो जीवन उत्सर्ग गर्नुपरेको र प्रहरीका सांगठनिक तथा व्यक्तिगत सामानहरू लुटपाट तथा आगजनी भएको उनले जानकारी दिए । ‘न्यून साधन स्रोतबाट कार्यसम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्‍याएको छ, जसको असर आम नागरिकको जीवनमा समेत पर्नेछ,’ मन्त्री अर्यालले भने ।

गृहमन्त्रीले सीमित स्रोत साधनका बाबजुद पनि राष्ट्रको सुरक्षा र अमनचयन कायम गर्न प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै चुनौतीहरूको सामना गर्न तयार रहन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै