वीरगन्ज । प्रतिनिधि सभा विघटनविरूद्ध मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।
अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रतिनिधि सभा विघटनसम्बन्धी दुईवटा रिट र अन्तरिम सरकार असंवैधानिक रहेको भन्दै एउटा रिट गरी कुल तीन रिट सर्वोच्चमा परेका छन्।
प्रवक्ता कोइरालाले रिटहरू अहिले अध्ययनकै क्रममा रहेको र अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढाइने जानकारी दिए।
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा झण्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए। त्यस कारण सर्वोच्चले घटनायता नयाँ मुद्दा लिन सकेको थिएन।
पुराना मुद्दा तत्काल अघि बढाउन नसकिएको अवस्थामा सर्वोच्च अदालतले मंगलबारदेखि नै नयाँ मुद्दा हेर्ने र प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो। नयाँ मुद्दा लिन थालेकै पहिलो दिन प्रतिनिधि सभा विघटनविरुद्ध रिट परेको हो।
भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। यसै निर्णयविरुद्ध सर्वोच्चमा कानुनी चुनौती दिइएको हो।