ट्रेन्डिङ

जेनजी आन्दोलनको ३३ दिनपछि वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, मधेशका ८ वटै जिल्लामा बालेन र गुरुङविरुद्ध उजुरी

वीरगन्ज । भदौ २४ गतेको जेनजी विद्रोह को ठिक ३३ दिनपछि नेकपा एमाले निकट राष्ट्रिय युवा संघले वीरगन्जमा शक्ति प्रदर्शन गरेको छ।

जेनजी आन्दोलनका अगुवाहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गर्नुअघि युवा संघले नगरमा मोटरसाइकल र्‍याली निकालेर आफ्नो बल प्रदर्शन गरेको हो।

युवा संघ, पर्साले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङसहित जेनजी आन्दोलनका अगुवाहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेको छ।

यसैगरी युवा संघ बाराले पनि आज जिल्ला प्रहरी कार्यालयमा सुदन गुरुङ र बालेन साह बिरुद्ध जाहेरी दिएका छन् । संघका अध्यक्ष सदाम अन्सारीको नेतृत्वमा मोटरसाइकल र्याली गर्दै गएका युवाहरुले जाहेरी दिएका हुन ।

यो उजुरी सोमबार मधेश प्रदेशका आठ वटै जिल्लामा बालेन र गुरुङसहित जेनजी आन्दोलनका अगुवा तथा समर्थकहरूविरुद्ध उजुरी दिने राष्ट्रिय युवा संघको केन्द्रीय सर्कुलर अनुसार गरिएको हो।

युवा संघ पर्साका अध्यक्ष सुवास साहका अनुसार उजुरीमा भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको राष्ट्रिय सम्पत्तिमा तोडफोड, सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न प्रहरी कार्यालयहरूमा आगजनी तथा क्षति पुर्‍याउने कार्यमा मेयर बालेन शाह र संयोजक सुदन गुरुङको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाइएको छ।

उजुरी बुझाउने क्रममा युवा संघले दुवैलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न प्रहरी प्रशासनसँग जोडदार माग गरेको छ।

उजुरी बुझाउनुअघि राष्ट्रिय युवा संघले वीरगन्जमा एक मोटरसाइकल र्‍याली निकालेर शक्ति प्रदर्शन गरेको थियो। जिल्ला समन्वय समितिको प्राङ्गणबाट सुरु भएको र्‍यालीले नगर परिक्रमा गर्दै लाल बङ्गला पुगेर समापन भएको थियो।

युवा संघका अध्यक्ष सुवास साहले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, एसपी सुदिपराज पाठकलाई उजुरी हस्तान्तरण गरेका थिए। उजुरी बुझ्दै एसपी पाठकले कानुन अनुसार प्रक्रिया अघि बढाइने बताएका छन्।

उजुरी दिने कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, वीरगन्ज महानगर इन्चार्ज बिचारी यादव, पर्सा अध्यक्ष विश्वम्भर शर्मा, युवा संघका केन्द्रीय सदस्य रवि गुप्तासहित सयौँ युवा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै