ट्रेन्डिङ

रौतहटमा घाँस काट्न गएका तीन बालिकाको बाढीको पानीमा डुबेर मृत्यु

रौतहट। रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ। गौर–१ मा रहेको सीमा क्षेत्र नजिकै यो घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूमा राजदेवी नगरपालिका–८ की १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र अर्की १५ वर्षिया मौसमी बैठा रहेका छन्।

प्राप्त जानकारी अनुसार, ती बालिकाहरू सात जनाको समूहमा घाँस काट्नका लागि गौरतर्फ आउँदै थिए। सोही क्रममा उनीहरू सीमा क्षेत्र नजिकै जमेको बाढीको गहिरो पानीमा डुबेका थिए।

बाढीमा डुबेकामध्ये चार जनालाई त स्थानीयवासीले तुरुन्तै उद्धार गरी सकुशल बाहिर निकाल्न सफल भएका थिए। तर, आस्था, रागनी र मौसमी भने बाढीको पानीमा बेपत्ता भएका थिए।

घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी कार्यमा जुटेको थियो। लामो खोजीपछि तीनै जना बालिकाको शव पानीबाट निकालिएको छ।

तीन जना मृतक बालिकाको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ। एकै गाउँका तीन जना बालिकाहरूको यसरी ज्यान जाँदा राजदेवी नगरपालिकाको वडा नम्बर ८ लगायत रौतहटको स्थानीय क्षेत्रमा गहिरो शोक छाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै