वीरगन्ज । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा अचानक समस्या आएकाले उनी र जेनजी समूहका प्रतिनिधिहरूबीच आज हुने भनिएको भेटवार्ता सोमबारका लागि सारिएको छ।
भेट स्थगित भएपछि राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै जेनजी समूहका प्रतिनिधिहरूले शीतलनिवासअगाडि नाराबाजी गरेका छन्। हाल राष्ट्रपति पौडेल प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूसँग छलफलमा रहेको शीतलनिवास स्रोतले जानकारी दिएको छ।
यसअघि, राष्ट्रपति पौडेलले हिजो प्रधानमन्त्रीसहित सबै दलका नेताहरूसँग निर्वाचनका विषयमा छलफल गरेका थिए । जेनजीसँगको छलफलका लागि २० जना अगुवाहरूको नाम तय गरिएको थियो, जसमा पुरुषोत्तम यादवले बहिष्कार गरेका छन्।
वार्ताका लागि तय भएका अन्य प्रतिनिधिहरूमा सुदन गुरुङ, ओजस्वीराज थापा, मिराज ढुंगाना, प्रवेश दाहाल, जितेन्द्र शाह, प्रशान्त पौडेल, अंकित अधिकारी, अभिषेक श्रेष्ठ, जुनल गदाल, अर्जुन शाही, रक्षा बम, प्रदीप ज्ञवाली, युजवराज भण्डारी, आदित्य कर्ण, आकृती घिमिरे, मोनिका निरौला, ओजस्वी भट्टराई, रिजन राना मगर र निकुञ्ज भण्डारी रहेका छन्।