सिरहा । पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान बसबाट खसेर सहचालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, धनगढीमाई नगरपालिका–९, जिरोमाइल नजिकै विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको बसबाट सहचालक पवनकुमार यादव खसेका थिए। लहान नगरपालिका—१ निवासी २१ वर्षीय यादव बसबाट खस्दा सोही बसको पछाडिको चक्काले किचिएर गम्भीर घाइते बनेका थिए।
घाइते यादवलाई तत्काल उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याइए पनि मध्यान्ह १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनालगत्तै प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश पालले जानकारी दिए।