जनकपुरधाम । धनुषा प्रहरीले एक १७ वर्षीया किशोरीलाई बलात्कार तथा ब्ल्याकमेल गरेको गम्भीर आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने आरोपित जनकपुरधाम उपमहानगरपालिका–७, जिरोमाइलका २१ वर्षीय दीपक राउत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी, प्रहरी निरीक्षक संजिव यादवका अनुसार राउतलाई गत मंगलबार नियन्त्रणमा लिई विस्तृत अनुसन्धान सुरु गरिएको छ। पीडित किशोरीलाई भने प्रहरीको निगरानीमा सुरक्षित आश्रयमा राखिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट राउतले झापाको दमकबाट ती किशोरीलाई फकाइ फुलाई जनकपुर बोलाएको र एक होटलमा राखेर आफूसहित अन्य केटाहरू लगाएर बलात्कार गराएको खुलेको प्रहरीको दाबी छ।
यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले राउतको मोबाइल फोनसमेत जाँच गर्दा थप आपत्तिजनक प्रमाणहरू फेला पारेको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार राउतको मोबाइलमा अन्य युवतीहरूसँगको अश्लील कुराकानी, युवतीहरूको अश्लील भिडियोहरूका साथै लागूऔषधका तस्वीरहरू समेत भेटिएको छ।
प्रहरीले राउतमाथि गम्भीर प्रकृतिको अपराधको आरोपमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ र घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ।