ट्रेन्डिङ

विश्वसनीय निर्वाचन गराउन ३० जना नागरिक अगुवाहरूको सरकारलाई आग्रह

वीरगन्ज । देशको सुरक्षा व्यवस्था अत्यन्तै चुनौतीपूर्ण बनेको भन्दै ३० जना नागरिक अगुवाहरूले आगामी फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार र सम्बद्ध निकायलाई तत्काल विश्वसनीय वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।

कृष्ण खनाल, केदारभक्त माथेमा, खगेन्द्र सङ्ग्रौला लगायतका नागरिक अगुवाहरूले बुधबार संयुक्त अपिल जारी गर्दै राजनीतिक दल र जेनजी समूहलाई समेत विश्वासमा लिएर निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सरकारलाई अपिल गरेका हुन्।

निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि शान्ति(सुरक्षा पहिलो सर्त भए पनि अहिलेको अवस्था गम्भीर रहेको उनीहरूको ठहर छ। अपिलमा भनिएको छ, ‘एकातिर सुरक्षा निकायको मनोबल अत्यन्त कमजोर छ भने अर्कोतिर नेपाल प्रहरीका ११०० भन्दा बढी हातहतियार लुटिएको सूचना सरकारले नै जारी गरेको छ।’

नागरिक अगुवाहरूले प्रहरीका अधिकांश कार्यालय जलाइएको, सञ्चार उपकरण पर्याप्त नभएको र उनीहरूसँग पोसाक तथा सुरक्षाका न्यूनतम उपकरणसमेत नभएको अवस्थाले सुरक्षा निकायको परिचालनमा कठिनाइ हुने उल्लेख गरेका छन्।

गम्भीर अपराधमा संलग्न जेलबाट भागेका कैदीबन्दी र अपराधीहरूले हत्या, चोरी, डकैती गर्न थालेपछि समाजमा भय र आतंकको वातावरण सिर्जना भएको भन्दै उनीहरूले सुरक्षा निकायको मनोबल उच्च बनाई आवश्यक साधन(स्रोत व्यवस्थापन गरी अविलम्ब शान्ति–सुव्यवस्था बहाल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नागरिक अगुवाहरूले राजनीतिक दलहरूलाई पनि निर्वाचनमा सहभागी हुन अपिल गरेका छन्। उनीहरूले छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन नभए गम्भीर राजनीतिक तथा संवैधानिक संकट सिर्जना हुने वास्तविकताप्रति दलहरूको गम्भीर ध्यानाकर्षण गराएका छन्।

यसका साथै, अगुवाहरूले प्रमुख दलका नेतृत्वलाई नैतिकताका आधारमा राजीनामा दिएर स्वैच्छिक अवकाश लिन सुझाव दिएका छन्। अपिलमा भनिएको छ, ‘लोकतान्त्रिक र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वैच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहन्छौँ।’

उनीहरूको ठहर छ कि जेनजी विद्रोहपछि सिर्जना भएको विशेष परिवेशलाई मध्यनजर गर्दै विघटित संसदमा प्रतिनिधित्व गर्ने सबै दलले अविलम्ब विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नु आवश्यक छ। यदि जनभावना अनुसार दलले आफूलाई पुनर्गठन, रूपान्तरण र शुद्धीकरण नगरे थप अलोकप्रिय, कमजोर र अनुत्तरदायी हुने चेतावनीसमेत उनीहरूले दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै